म्याग्दी — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शनिबार म्याग्दीको फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्डको स्थलगत निरीक्षण गरेका छन्। बेनी–दरबाङ सडकको प्रमुख अवरोध बनेको फापरखेत पहिरो र गत महिना म्याग्दी नदीको बाढीले क्षति पुर्याएको प्राकृतिक उपचारस्थलको अवस्था बुझ्न उनी स्थानीयसँग छलफलमा पनि सहभागी भए।
फापरखेत पहिरो बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्छ। यो पहिरोले म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकलाई प्रभावित बनाएको छ। पछिल्लो एक हप्तादेखि निरन्तर सुक्खा पहिरो खसिरहँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाबाट बेनी आउजाउ गर्नै कठिन भएको छ।
निरीक्षणका क्रममा मन्त्री पुनले फापरखेत पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। केही दिनअघि पूर्वाधारमन्त्री सुनील लम्सालले पनि उक्त क्षेत्रको निरीक्षण गरेका थिए। मन्त्री पुनले बर्खा सुरु हुनुअघि नै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था अन्त्य गरिने बताए।
त्यस्तै, सिङ्गा–तातोपानी कुण्डको पुनर्निर्माणका लागि लागत अनुमान तयार पारेर बजेट माग गर्न उनले स्थानीयलाई आग्रह गरे। सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो। बाढीपछि स्थानीयले श्रमदानबाट कुण्ड सफा गरी अस्थायी रूपमा सञ्चालनमा ल्याएका छन्।
निरीक्षणमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरोको समस्या र वैकल्पिक उपायबारे जानकारी गराए। सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बाढीको क्षति र अस्थायी सञ्चालनको अवस्थाबारे बताए। गण्डकी प्रदेश सरकारले पहिरोको दीर्घकालीन समाधानका रूपमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढाएको छ भने पुल नबन्दासम्म बेलिब्रिजको व्यवस्था गर्नुपर्ने प्रस्ताव यसअघि नै गरिएको थियो।
