काठमाडौँ, १६ कात्तिक । वेस्ट इन्डिजका क्रिकेटर सेरफेन रदरफोर्डले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका उनले नेपाली खेलाडीमा राम्रो प्रतिभा देखेको भन्दै प्रशंसा गरेका हुन् ।
सोमबार चितवन राइनोजलाई पाँच विकेटले हराएपछि आयोजित पत्रकार सम्मेलनमा रदरफोर्डले नेपाली क्रिकेट, कप्तान दीपेन्द्रसिंह ऐरी र एनपीएलको स्तरबारे आफ्ना अनुभव सुनाए । चार खेल खेलेर स्वदेश फर्किन लागेका उनले नेपालमा बिताएको समय निकै राम्रो रहेको बताए ।
नेपाली खेलाडीमा देखिएको क्षमताका आधारमा भविष्यमा अझ धेरै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा अवसर पाउने उनको विश्वास छ । अन्तर्राष्ट्रिय खेलाडी नेपाल आएर खेल्दा नेपाली क्रिकेटलाई फाइदा पुग्ने उनले बताए ।
रदरफोर्डले कप्तान दीपेन्द्रसिंह ऐरीको खुलेर प्रशंसा गरे । विश्वकपमा दीपेन्द्रले खेलेका इनिङ्स हेर्दा नेपाली खेलाडीले उनीबाट धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो । दीपेन्द्र निडर भएर खेल्ने, निकै समझदार, मैदानमा ऊर्जावान् र मैदानबाहिर नम्र तथा मिलनसार रहेको रदरफोर्डले बताए । क्यानडामा पनि दीपेन्द्रसँग खेलेको अनुभव सुनाउँदै उनले यस्ता खेलाडीले अझ धेरै अन्तर्राष्ट्रिय अवसर पाउनुपर्ने बताए ।
चितवनविरुद्धको खेलमा पिच केही कठिन भए पनि टोलीले संयमित भएर खेलेको उनले बताए । सुरुवाती चार खेलमा दुई जित र दुई हारको नतिजालाई उनले सामान्य रूपमा लिए । क्रिकेटमा सधैँ जितको ग्यारेन्टी नहुने भए पनि सही सोच र मानसिकता महत्त्वपूर्ण हुने उनको भनाइ थियो । अघिल्लो दिन भिजेको मैदान खेल्न उपयुक्त नरहेको उनको भनाइ थियो, तर टोलीप्रतिको मायाका कारण उनी खेल्न तयार भएका थिए । एनपीएल अहिले सुरुवाती चरणमा रहे पनि भविष्यमा अझ ठूलो र स्तरीय बन्ने उनको विश्वास छ । अहिले विश्वले नेपाली क्रिकेटलाई हेरिरहेको उल्लेख गर्दै उनले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताए ।
