बाँकेको राप्ती सोनारी गाउँपालिकामा किसानले उत्पादन गरेको धान गाउँमै बिक्री गर्न पाउने व्यवस्था भएको छ। राप्ती सोनारी–६ मा रहेको साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानसँग १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ।
सहकारीले सबै जातको धानको उचित मूल्य तोकेर खरिद सुरु गरेको छ। मसिनो धान प्रतिक्विन्टल रु तीन हजार २००, राधा ४ मोटो धान प्रतिक्विन्टल रु दुई हजार ८५० र हाइब्रिड धान प्रतिक्विन्टल रु दुई हजार ७५० मा खरिद गरिने सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले जानकारी दिए। धान बेच्न चाहने किसानले आफ्नो उत्पादन सहकारीको गोदाम वा सङ्कलन केन्द्रमा ल्याउनुपर्नेछ।
स्थानीय किसानलाई प्रोत्साहन गर्ने र उनीहरूको मेहनतको उचित मूल्य दिलाउने उद्देश्यले यो योजना ल्याइएको वलीले बताए। गाउँमै धान बिक्री हुने भएपछि किसानलाई बजार खोज्न टाढा जानुपर्ने झन्झट हट्ने र उनीहरूको आर्थिक अवस्था सुधारिने अपेक्षा गरिएको छ।
सहकारीको केन्द्रीय कार्यालय राप्ती सोनारी–६ फत्तेपुरको टेपरीमा छ भने राप्ती सोनारी–५ बिनौनामा रहेको गोदाममा खरिद गरिएको धान भण्डारण गरिने अध्यक्ष हुमाशङ्कर वलीले बताए। संस्थामा आठ हजारभन्दा बढी किसान सदस्य छन्। सहकारीले बीउ धान उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्दै आएको छ र उत्पादित बीउ धान खरिद गर्ने गरेको छ।
सहकारीले कुल रु ५५ लाख लगानीमा अत्याधुनिक सिल्की चामल मिलसमेत यस वर्षदेखि सञ्चालनमा ल्याएको छ। मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत सहजै बिक्री गर्न सक्नेछन् भने कुटानी–पिसानीको सुविधा पनि गाउँमै उपलब्ध भएको छ। स्थानीय तहमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि व्यावसायिक कृषिप्रति किसानको आकर्षण बढ्ने विश्वास लिइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँके जिल्लाका लागि धान खरिदको कोटा १० हजार क्विन्टल मात्र निर्धारण गरेकाले गाउँ–गाउँमा सहकारीले धान खरिद गर्दा किसानलाई ठूलो राहत पुग्ने किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णबिक्रम केसीले बताए।
