काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि लामो समयदेखि सम्पर्कमा नआएका व्यक्तिहरूलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए कडा कानुनी कारबाही हुने चेतावनी दिएको हो ।
विभागका अनुसार वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभिन्न मितिमा जारी भएका पक्राउ पुर्जीका व्यक्ति अहिलेसम्म सम्पर्कमा आएका छैनन् । ती व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनिएको छ ।
तोकिएको अवधिभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । त्यस्ता व्यक्तिको बैंकिङ कारोबार रहेको खाता रोक्का गर्ने, यात्रा अनुमति रोक्का राख्ने लगायतका आवश्यक कानुनी कदम चालिने विभागको भनाइ छ ।
वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी गराउने उद्देश्यले विभागले यो सूचना जारी गरेको हो । सम्बन्धित व्यक्तिहरूले तोकिएको समयभित्रै सम्पर्कमा आएर कानुनी प्रक्रिया पूरा गर्नुपर्ने विभागले स्पष्ट पारेको छ ।
