नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो गतिविधि, प्रेस स्वतन्त्रता, राजनीतिक मर्यादा र विभिन्न विवादित घटनाक्रममाथि प्रश्न उठाएका छन्। पार्टीका तर्फबाट पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्रमा सञ्चारमाध्यमलाई त्रासमा राख्ने वा पत्रकारलाई ह्यारेस गर्ने काम स्वीकार्य नहुने बताएका छन्।
लोकतन्त्रको अवस्था मापन गर्ने एउटा महत्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै शर्माले भने, कुनै देशमा लोकतन्त्र छ कि छैन भन्ने कुरा प्रेस स्वतन्त्रता कति छ भन्नेमा निर्धारण हुन्छ। लोकतन्त्रमा मिडियालाई ह्यारेस गरियो भने त्यो लोकतन्त्र रहँदैन।
उनले कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि त्यसबारे प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने तर्क गरे। सरकारको प्राथमिकतामाथि समेत प्रश्न गर्दै उनले भने, यो बेलामा सरकारले गर्नुपर्ने के थियो र के गर्दैछ ? आईजी हटाउने अहिलेको प्राथमिकता हो ?
सिंहदरबार र बालुवाटारमा भइरहेका गतिविधिमाथि टिप्पणी गर्दै शर्माले मतदाताले दिएको मतको सम्मान नभएको आरोप लगाए। सरकार पाँच वर्षसम्म चलोस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले एक विचौलिया व्यक्तिको मोबाइल कब्जामा लिएपछि त्यसबाट प्राप्त सामग्री प्रधानमन्त्रीका सल्लाहकारसम्म कसरी पुग्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न गरेका छन्।
अडियो प्रकरणबारे बोल्दै शर्माले सार्वजनिक भएका अडियोहरू कपोलकल्पित र नियोजित रहेको दाबी गरे। उनले नेतृत्वमाथि उठेका प्रत्येक प्रश्नको छानबिन गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै विवादित सबै विषयको निष्पक्ष र कानुनसम्मत अनुसन्धान हुनुपर्नेमा जोड दिए।
