काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले संविधान र कानुनको सम्मान नगरेको आरोप लगाएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको बताए ।
बैठकमा सहभागी स्रोतका अनुसार पौडेलले कानुनी संरचनालाई कमजोर पारेर सत्ताको दुरुपयोग भएको टिप्पणी गरे । संविधान र कानुनको बेवास्ता गर्दै सरकारले आफ्नो अनुकूल निर्णय लिइरहेको उनको भनाइ थियो ।
अदालतमा देखिएको ‘सेटिङ’ को प्रसंगमा पनि उनले कडा धारणा राखे । उक्त प्रकरणमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरीसमेत जोडिएको विषयको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउनुपर्ने उनको माग छ । सरकार आफैंले गर्ने छानबिन निष्पक्ष हुनेमा आफूलाई विश्वास नभएको उनले बताए ।
प्रतिपक्ष, संसद्, जनता र सञ्चारमाध्यममाथि सरकारले हेपाइ र ज्यादती बढाएको पौडेलको आरोप छ । राज्यका संवैधानिक निकायलाई कमजोर बनाइएको उनले बताए ।
उनले दललाई प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाउन माग गर्न तथा अन्य प्रतिपक्षी दलसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरे । आफ्नो धारणा राखेर उनी बैठकबाट बाहिरिएका थिए भने बैठक जारी रहेको छ ।
प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीति, पत्रकारमाथिको बढ्दो ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास र संसदीय दल तथा पार्टीबीचको सम्बन्धबारे छलफल हुँदैछ ।
