भैरहवाबाट पोखरातर्फ गइरहेको यात्रुवाहक बसमा सवार एक युवक प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन्। स्याङ्जाको वालिङमा आइतबार गरिएको सवारी जाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्ति २९ वर्षीय सन्दीप मिजार हुन्। उनको स्थायी ठेगाना ललितपुरको लुभु हो भने उनी हाल कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजारमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीका अनुसार वालिङ नगरपालिका–१० को फूलबारी चोकस्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन जाँच भइरहेका बेला ग २ ख १५५५ नम्बरको बस रोकिएको थियो। वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले बसभित्र जाँच गर्दा मिजारको साथबाट लागुऔषध फेला परेको हो।
प्रहरीले मिजारको साथबाट बुप्रेनोर्फिन इन्जेक्सन २७ एम्पुल, फेनेरगन १५ एम्पुल र डाइजेपाम इन्जेक्सन १९ एम्पुल बरामद गरेको छ। उनको एक थान वनप्लस मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
मिजारविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। स्याङ्जा जिल्ला अदालतबाट कात्तिक २२ गते १० दिनको म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको छ।
