वीरेन्द्रनगरमा प्रशोधित पिउने पानीको अभाव चर्किँदै गएपछि अन्ततः जिल्ला प्रशासन र पानी उद्योगीबीच सहमति जुटेको छ। आइतबार अपराह्न भएको छलफलमा पुरानै अधिकतम खुद्रा मूल्यमा कारोबार गर्ने मौखिक सहमति भएपछि सोमबारदेखि बन्द उद्योगले उत्पादन थाल्ने भएका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातवटा प्रशोधित पानी उद्योग छन्। प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले असोज ३० गते बोलाएको बैठकमा पुरानो दर कायम गर्न खोजेपछि उद्योगीले असोज ३१ गतेदेखि उत्पादन बन्द गरेका थिए। त्यसपछि होटल, पसल र घरघरमा जार तथा बोतलको पानी पाउन मुस्किल भएको थियो। मुख्यमन्त्री मंगलबहादुर शाहीको निवासमै पानी नपुगेपछि उनले समेत चासो देखाएका थिए।
उद्योगीका अनुसार कच्चा पदार्थको मूल्य पहिले १५० रुपैयाँ रहेकामा अहिले ४०० रुपैयाँ पुगेको छ। डिजेल, पेट्रोल, ढुवानी भाडा र कामदारको पारिश्रमिक बढेकाले पुरानै दरमा उत्पादन गर्न नसकिने उनीहरूको तर्क थियो। २०७६/०७७ सालको एउटा प्रतिवेदनलाई आधार बनाएर पुरानो दर थोपर्न खोजिएकोमा उनीहरूले आपत्ति जनाएका थिए।
सहमतिअनुसार हरेक उद्योगीले आफ्नो उत्पादनको अधिकतम खुद्रा मूल्य आफैँ तोक्न पाउनेछन् र बजारमा सोही मूल्यमा बिक्री हुनुपर्नेछ। उत्पादनका क्रममा तोकिएका गुणस्तर मापदण्ड पालना गर्नुपर्ने र मूल्यको औचित्य पुष्टि गर्न माग भएमा बिल तथा कागजात पेस गर्नुपर्ने सर्त पनि राखिएको छ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले मूल्य उद्योगी आफैँले तोक्ने भए पनि तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्न नहुने बताएका छन्। वीरेन्द्रनगरमा दैनिक करिब पाँच हजार जार र २५ सय कार्टुन पानी बिक्री हुने गर्छ। यस क्षेत्रमा करिब ८० वटा गाडी र साढे चार सयभन्दा बढी कर्मचारी आश्रित छन्।
