मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, हटिया फाँटमा धान पाकिसकेको छ, तर किसानहरू काट्ने कि केही दिन पर्खने भन्ने निर्णय गर्न सकिरहेका छैनन्। आसपासका चौघडा र कमाने क्षेत्रका किसान पनि त्यही अन्योलमा छन्। मौसम बिग्रिएर पाकेको धान नोक्सान हुने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताएको छ।
हटियाका फणिराज अधिकारीले १२ कट्ठा जमिनमा धान लगाएका छन्। धान पाकेको भए पनि मौसमसम्बन्धी हल्लाले आफूलाई छटपटी भएको उनले बताएका छन्। बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणाली बलियो भएर चक्रवात बन्न सक्ने अनुमान छ, र त्यसको असरले बुधबारदेखि मौसम प्रतिकूल बन्न सक्ने बताइएको छ।
पूर्वानुमानअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्नुका साथै ठाउँठाउँमा वर्षा हुन सक्नेछ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। बिहीबारदेखि यो प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने र शुक्रबार तथा शनिबार झन् बढ्ने अनुमान मौसम विभागले गरेको छ।
राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले धानमा क्षति पुग्न सक्ने भन्दै मंगलबारभित्रै धान काटेर भित्र्याउन किसानलाई आग्रह गरेको छ। मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार काम गर्न पनि केन्द्रले सुझाएको छ। स्थानीयवासी हरि अधिकारीका अनुसार पछिल्ला पूर्वानुमानहरू मिल्दै आएका कारण किसानले मौसम हेरेर काम गर्न थालेका छन्। ८० वर्षीय श्रीप्रसाद न्यौपानेले बस्ती विस्तारले खेतीयोग्य जमिन घट्दै गएको र युवाहरू विदेशिएकाले तराईबाट सयभन्दा बढी मजदुर आएको बताए। यहाँ धानपछि तोरी वा आलु लगाइन्छ।
