काठमाडौं । इनम सापकोटाको भनिएको अडिओ प्रकरणबारे छलफल गर्न प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै बैठकको माग गरेका हुन् ।
समिति सदस्यसमेत रहेका नेकपा प्रमुख सचेतक युवराज दुलालले पत्रमा प्रहरी हिरासतमा रहेका व्यक्तिको अडिओ कसरी बाहिरियो भन्ने प्रश्न उठाएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको फेसबुक स्टाटसका आधार के हुन् भन्ने विषयमा पनि उनले जवाफ खोजेका छन् । पत्रकार पक्राउ पर्ने र छुट्ने तर सरकारलाई थाहा नभएको भन्ने अवस्थाप्रति पनि दुलालले गम्भीर प्रश्न उठाएका छन् ।
गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समितिको बैठकमा बोलाएर जवाफ माग्नुपर्ने र सरकारलाई जवाफदेही बनाउनु समितिको जिम्मेवारी भएको दुलालको पत्रमा उल्लेख छ । उनले अविलम्ब बैठक बोलाउन आग्रह गरेका छन् ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि छुट्टै पत्र लेखेर बैठकको माग गरेका छन् । प्रहरी महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ र हिरासतमा रहेका व्यक्तिको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निवासमा हुनु गम्भीर र चिन्ताजनक घटना भएको शाहीको भनाइ छ ।
यी विषय राज्य व्यवस्था तथा सुशासन समितिसँग प्रत्यक्ष सम्बन्धित भएकाले छलफल र आवश्यक छानबिनका लागि तत्काल बैठक बोलाउन शाहीले आग्रह गरेका छन् ।
