सार्वजनिक खरिद प्रक्रियालाई विद्युतीय माध्यमबाट सञ्चालन गर्ने ई-जिपी प्रणाली फेरि सञ्चालनमा आएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुधार गरेर मंगलबारदेखि यो प्रणाली पुनः सुरु गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जोखिम देखिएको भन्दै गत भदौ ११ गतेदेखि प्रणाली बन्द गरेको थियो। करिब दुई महिनापछि सुधारसहित प्रणाली फेरि खुला भएको छ।
कानुनी व्यवस्थाअनुसार सबै सार्वजनिक निकायले निर्माण कार्य र मालसामान खरिदका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बोलपत्र यही प्रणालीमार्फत प्रकाशन गर्नुपर्छ। यसले खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थामा बोलपत्रदाता र आपूर्तिकर्ताले आफ्नो प्रस्ताव अनलाइन वा हार्डकपीमध्ये जुनसुकै माध्यमबाट बुझाउन सक्नेछन्। तर बोलपत्र खोल्ने र मूल्यांकन गर्ने काम भने विद्युतीय प्रणालीबाटै गर्नुपर्ने अनिवार्य गरिएको छ।
प्रणाली बन्द हुँदा सार्वजनिक निकायका खरिद प्रक्रिया प्रभावित भएका थिए। पुनः सञ्चालनसँगै ठेक्का तथा खरिदका काम सहज हुने र प्रक्रियामा ढिलाइ घट्ने विश्वास गरिएको छ।
