काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा चाडपर्वका बेला नागरिकको सुरक्षालाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए । चाडपर्वको समयमा भीडभाड बढ्ने र मानिसको आवतजावत धेरै हुने भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन पनि उनले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई उनले आग्रह गरेको सचिवालयले जनाएको छ ।
