काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा रहनुले सत्ताको दुरुपयोगका साथै प्रमाण नष्ट हुने आशङ्का देखिएको बताइन् ।
सुशासनको नारा दिएर आएको सरकारले कानुनी र नैतिक हिसाबले यसको जवाफ दिनुपर्ने उनको भनाइ छ । प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीको सल्लाहकारको निजी निवासमा पुग्नु, म्यासेज डिलिट हुनु र स्क्यान गरिनुजस्ता विषय गम्भीर रहेको उनले बताइन् । यस विषयमा जोडिएका व्यक्तिहरूमाथि छानबिन हुनुपर्ने धारणा उनले राखिन् ।
नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभई राज्यको एक व्यावसायिक र स्वतन्त्र संस्था भएकाले यसमाथिको हस्तक्षेपले शान्ति सुरक्षालाई कमजोर बनाउने उनको तर्क छ ।
अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहिता पनि रास्वपाले लिनुपर्ने बताइन् ।
