नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकीदेखि यमदीपदान गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आजै धनत्रयोदशी पर्व पनि परेको छ।
समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईका अनुसार शास्त्रीय व्यवस्थाअनुसार साँझ त्रयोदशी परेको दिन यमदीपदान सुरु हुन्छ भने बिहान त्रयोदशी परेको दिन काग तिहार मनाइन्छ। यस वर्ष काग तिहार कार्तिक २१ गते शनिबार परेको छ। धनवन्तरी जयन्ती पनि सोही दिन मनाइन्छ।
धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा दक्षिण फर्काएर गर्नुपर्ने बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि रहेको उनको भनाइ छ। यमपञ्चकमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ।
तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा दुवै कार्तिक २२ गते आइतबार परेका छन्। सो दिन अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइन्छ भने बेलुकी लक्ष्मीपूजा गरिन्छ। अपामार्गसहित स्नान गरेर बत्ती बालेर नदीमा बगाउँदा नरकको यातना सहनु नपर्ने मान्यता रहेको समितिले जनाएको छ।
गाईपूजा कार्तिक २३ गते सोमबार र गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा तथा आत्म (म्ह) पूजा कार्तिक २४ गते मङ्गलबार परेका छन्। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुन्छ। भाइटीका कार्तिक २५ गते बुधबार परेको छ। उत्तम साइत बिहान ११:०७ बजे रहेको छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत हुने समितिले जनाएको छ।
यसैबीच नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी र घाइते हुने घटना बढ्ने भएकाले सचेत रहन प्रहरीले अनुरोध गरेको छ।
