इलामको कन्याममा पहिलो पटक सूर्योदय चिया महोत्सव आयोजना हुने भएको छ। आगामी मंसिर ५ र ६ गते दुई दिनसम्म चल्ने महोत्सव सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको संयुक्त आयोजनामा हुनेछ।
महोत्सवको मुख्य उद्देश्य चियाबारी हुँदै जाने नयाँ पदमार्गको प्रचार गर्नु र चिया पर्यटनलाई अगाडि बढाउनु रहेको आयोजकले बताएको छ। दुई दिने कार्यक्रममा चिया दौड प्रतियोगिता, चियाको स्वाद परीक्षण, चियासम्बन्धी गोष्ठी, निर्देशित पदयात्रा, स्थानीय खानाका स्टल र सांस्कृतिक प्रस्तुति रहनेछन्।
महोत्सवका क्रममा जलवायु परिवर्तनसँग जुध्दै दिगो चिया खेती गर्ने र चिया किसानको संरक्षण गर्ने विषयमा छलफल पनि हुनेछ। उक्त छलफलको सहजीकरण अनलाइनखबरका सम्पादक तथा लेखक वसन्त बस्नेतले गर्नेछन्। छलफलमा संघीय सांसद, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि र सचिव तथा स्थानीय जनप्रतिनिधि सहभागी हुनेछन्।
सूर्योदय नगरपालिका क्षेत्रमा उत्पादन हुने विभिन्न ब्रान्डका चियाको प्रदर्शनी, स्वाद परीक्षण र बजारीकरणको व्यवस्था पनि महोत्सवमा गरिनेछ। महिला र पुरुषका लागि छुट्टाछुट्टै चिया दौड प्रतियोगिता हुनेछ। खुला पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँ हुनेले ३ हजार रुपैयाँ पाउनेछन्। महिलातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले ३ हजार र पाँचौँ हुनेले २ हजार रुपैयाँ पाउनेछन्। दुवै विधाका विजेताले नगदसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजकका अनुसार महोत्सवमा देशभित्र र बाहिरबाट गरी करिब १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।
