काठमाडौँ — विश्वभर आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता पाएका चुचुरा अहिले १४ वटा मात्र छन्। तीमध्ये आठ वटा नेपालमा पर्छन् भने पाँच वटा पाकिस्तान र एउटा चीनमा छन्। तर यो सूचीमा थप छ वटा नेपाली चुचुरा थपिने सम्भावना बलियो बनेको छ। गत हप्ता काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए) को साधारणसभामा नेपालले ती चुचुरालाई छुट्टाछुट्टै स्वतन्त्र हिमालका रूपमा मान्यता दिन औपचारिक प्रस्ताव पेस गरेको छ।
प्रस्तावमा परेका चुचुरा कञ्चनजङ्घा र सगरमाथा–ल्होत्से हिमशृङ्खलाका हुन्। कञ्चनजङ्घा हिमशृङ्खलाबाट कञ्चनजङ्घा साउथ, कञ्चनजङ्घा वेस्ट, कञ्चनजङ्घा सेन्ट्रल र यालुङ खाङ छन् भने सगरमाथा–ल्होत्से हिमशृङ्खलाबाट ल्होत्से मिडल र ल्होत्से शार समावेश छन्।
नेपालभित्र भने यी चुचुराले पहिल्यै मान्यता पाइसकेका छन्। नापी विभागले वैज्ञानिक नापजाँचबाट यी सबै चुचुराको उचाइ आठ हजार मिटरभन्दा बढी रहेको पुष्टि गरिसकेको छ। पर्यटन विभागले ती हिमालमा आरोहण अनुमति दिनुका साथै सफल आरोहीलाई छुट्टै हिमाल चढेको प्रमाणपत्र समेत दिँदै आएको छ।
नेपाल पर्वतारोहण संघले आवश्यक कागजात, चुचुराको विस्तृत विवरण र नापी विभागको तथ्याङ्कसहितको प्रस्ताव महासंघसमक्ष बुझाएको छ। संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार यसपटकको तयारी विगतको भन्दा निकै बलियो छ। अब यूआईएएको माउन्टनिङ कमिसनले एकदेखि दुई महिनाभित्र प्रस्तावको अध्ययन गर्नेछ। त्यसपछि प्रतिवेदन कार्यकारी टोली हुँदै आगामी साधारणसभामा अनुमोदनका लागि पेस गरिनेछ। काठमाडौँमा भएको साधारणसभामा पाँच महादेशका ४५ देशबाट ९५ जना विदेशी प्रतिनिधि सहभागी भएका थिए।
प्रस्ताव पारित भए विश्वका आठ हजारी हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्र यस्ता हिमाल १४ वटा हुनेछन्। यसले पर्वतीय पर्यटन बढाउने, आरोहण रोयल्टीबाट थप राजस्व भित्र्याउने र गाइड, शेर्पा, भरिया, होटेल तथा यातायात क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
