झापामा सशस्त्र प्रहरीले करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले बरामद गरेका ती सामग्री आज गण परिसरमा खाल्डो खनेर नष्ट गरिएको हो।
गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याइएका पटका विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएका थिए।
चाडपर्वका बेला यस्ता विष्फोटक पदार्थको प्रयोगबाट आगलागी हुने, मानवीय दुर्घटना हुने, धनजनको क्षति हुने तथा ध्वनि र वातावरणीय प्रदूषण बढ्ने जोखिम रहेकाले अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणलाई प्राथमिकतामा राखिएको कर्माचार्यले बताए।
पटकाको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्ने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उनले जिल्लावासीलाई आग्रह गरे।
बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो। यसअघि कात्तिक १० गते पनि सशस्त्र प्रहरीले ३ लाख १६ हजार ५९० रुपैयाँ बराबरका पटका बरामद गरी नष्ट गरेको थियो।
