सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन्। नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा उनीसँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस्था हो। यसले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको अन्तर्राष्ट्रिय समन्वय र डिजिटल कनेक्टिभिटी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
प्रत्येक चार वर्षमा आयोजना हुने यो महासम्मेलन संघको सर्वोच्च नीति निर्धारण गर्ने सम्मेलन हो। यसले संघको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व निर्धारण गर्छ।
सम्मेलनका क्रममा हुने संघको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्यहरूको निर्वाचनमा नेपालले सहभागिता जनाउँदै मतदान गर्ने कार्यक्रम रहेको छ। यस सहभागिताले अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रका नीति तथा निर्णय प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनका अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
