नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले कांग्रेसमाथि भइरहेको प्रहार लोकतन्त्र सक्ने नियतले गरिएको बताएका छन्। राज्य पक्षबाट कांग्रेसमाथि नियोजित रूपमा प्रहार गर्न खोजिएको उनको भनाइ छ।
नेपाल प्रेस युनियन दाङले आयोजना गरेको स्वतन्त्र प्रेसको अभ्यासमा देखिएका चुनौती विषयक कार्यक्रममा बोल्दै सहमहामन्त्री चौधरीले कांग्रेस सभापति गगनकुमार थापामाथि लगाइएको आर्थिक लेनदेनको आरोप मिथ्या भएको बताए। यस्तो आरोप लगाएर कांग्रेसलाई कमजोर पार्ने कुचेष्टा गरिएको उनले बताए।
कांग्रेसलाई कमजोर पार्न खोज्नु भनेकै लोकतन्त्र मास्ने गलत षडयन्त्रका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ। कांग्रेसमाथिको प्रहारलाई उनले सिङ्गो लोकतन्त्रमाथिको प्रहारका रूपमा अर्थ्याए।
‘सभापतिमाथि यस्तो झुठा आरोप लगाएर कांग्रेसलाई कमजोर बनाउन खोजिएको स्पष्ट रूपमा बुझ्न सकिन्छ,’ उनले भने, ‘कांग्रेसलाई कमजोर बनाउन खोज्नु भनेको लोकतन्त्रलाई मास्ने षडयन्त्र हो भनेर हामी सबैले बुझ्न जरुरी छ।’
कांग्रेसमाथि बुनिएको षडयन्त्रका विरुद्धमा पार्टीले डटेर मुकाबिला गर्ने चेतावनी उनले दिए। ‘जसरी कांग्रेसलाई बदनाम गर्न राज्यले खोजेको छ, यो कदापि सह्य छैन,’ उनले भने, ‘कांग्रेसले यसको डटेर सामना गर्छ।’ उनले प्रेस स्वतन्त्रताप्रति कांग्रेस सदैव प्रतिबद्ध पार्टी रहेको पनि बताए।
