प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका पछिल्ला कदमप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरू सामूहिक प्रतिवादमा उत्रने तयारीमा जुटेका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी सडक आन्दोलनमा जाने तयारीमा छन् भने नेपाली कांग्रेस, राप्रपा र जसपा नेपालले पनि सरकारका गलत कदमविरुद्ध सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन्। विपक्षीहरूले सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेका छन्।
समाचार लेखेकै आधारमा पत्रकारहरूमाथि धरपकड भएपछि १७ कात्तिकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अग्रसरतामा सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो। बैठकले सदनबाटै सरकारमाथि प्रश्न उठाउने र आवश्यक परे सडकमा पनि जाने सहमति गरेको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताए। कांग्रेस सचेतक निश्कल राईले भने सरकारले गल्तीको शृङ्खला नरोकेपछि प्रतिवादमा आवाज उठाउन बाध्य भएको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि विकसित राजनीतिक कोर्स सच्याउन सडक आन्दोलनको विकल्प नरहेको बताउँदै आएका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार आगामी २–३ मंसिरको राष्ट्रिय भेलापछि एमाले सडक आन्दोलनमा निस्कनेछ र नेकपा पनि सहकार्यमै आन्दोलनमा जानेछ। कांग्रेस भने अहिले नै सडकमा उत्रने पक्षमा छैन, तर सरकारले जुलुसमा उत्रन बाध्य नपारोस् भन्ने सहमहामन्त्री रामहरि खतिवडाको भनाइ छ।
यसैबीच कांग्रेस सभापति गगन थापाले १७ कात्तिकमा ओलीलाई भेट्न गुन्डु पुगेका थिए। दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि एक सय ८४ सांसद चाहिन्छ। रास्वपाका एक सय ८२ सांसद छन् भने कांग्रेसका ३८, एमालेका २४, नेकपाका १७, श्रम संस्कृतिका सात र राप्रपाका पाँच सांसद छन्। श्रम संस्कृति पार्टीका सचिव टीकाराम राईले विपक्षीसँग जाने वा नजाने भन्ने निर्णय अध्यक्ष हर्क साम्पाङले लिने बताएका छन्।
