नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति दिएको छ। लामो समयपछि थप एउटा कम्पनीले आईपीओ निष्कासनको बाटो खुलेको हो।
बोर्डले कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर निष्कासन गरिनेछ। कुल निष्कासनमध्ये १७ लाख कित्ता सर्वसाधारण समूहका लागि छुट्याइएको छ भने बाँकी ६३ लाख कित्ता संस्थापक समूहको हिस्सा हुनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ। कम्पनीले अब बिक्री प्रबन्धकसँगको समन्वयमा निष्कासनको मिति र प्रक्रिया तय गर्नेछ।
पुँजी बजारमा आईपीओ निष्कासनको अनुमति लामो समयदेखि सुस्त रहँदै आएका बेला यो स्वीकृतिले लगानीकर्तामा नयाँ चासो जगाउने अपेक्षा गरिएको छ।
