काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढिरहँदा दिल्लीमा नेपाली राजदूतको पद अझै खाली छ । संसदीय सुनुवाइ समितिले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलराज पाण्डेको नाम अनुमोदन गरिसकेको छ । तर उनको नियुक्ति अझै टुंगिएको छैन ।
परराष्ट्र मन्त्रालयले दसैँअघि नै पाण्डेको नाम एग्रिमो स्वीकृतिका लागि भारत पठाइसकेको थियो । सम्बन्धित देशबाट एग्रिमो स्वीकृत भएपछि मात्र राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ । अहिलेसम्म भारतबाट एग्रिमो आएको छैन । मन्त्रालयका अनुसार एग्रिमो प्राप्त हुनेबित्तिकै बाँकी प्रक्रिया पूरा गरी पाण्डेलाई केही दिनमै दिल्ली पठाइनेछ ।
पाण्डेसँगै अन्य नौ मुलुकका लागि प्रस्तावित राजदूतको नाम पनि सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ । अनुमोदन भएका १० जनामध्ये कोही पनि आफ्नो कार्यस्थल पुगेका छैनन् । एग्रिमोको प्रक्रियाले उनीहरूको नियुक्ति रोकिएको हो ।
प्रधानमन्त्री शाह मंसिरको पहिलो सातातिर भारत जाने तयारीमा छन् । तर भ्रमणको औपचारिक मिति तय भइसकेको छैन । भ्रमणअघि नयाँ राजदूतले जिम्मेवारी सम्हाल्न पाउने कि नपाउने भन्ने अन्योल कायमै छ । मन्त्रालयका एक उच्च अधिकारीले भ्रमणअघि नै नयाँ राजदूत पठाउन पाए राम्रो हुने भए पनि प्रक्रिया ढिलो भइरहेको बताएका छन् ।
यसबीच भारतले कात्तिक १७ गते नेपालका लागि आफ्ना नवनियुक्त राजदूत सुधाकर दलेलालाई पठाइसकेको छ । उनी विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणभन्दा एक दिनअघि काठमाडौँ आएका थिए । दलेला प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीमा जुटिसकेका छन् । भारतले राजदूत नियुक्तिको प्रक्रिया नेपालभन्दा धेरै पछि सुरु गरे पनि सबै काम पूरा गरी राजदूत पठाइसकेको छ भने नेपालले अझै आफ्ना राजदूत दिल्ली पठाउन सकेको छैन ।
