काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि कब्जा गरेका क्षेत्रमा रहेका सयौँ होटल तथा रिसोर्ट आफ्नो नियन्त्रणमा लिएको खुलासा भएको छ । रोयटर्सले रुसी तथा युक्रेनी सम्पत्ति अभिलेखको अध्ययन गर्दै गरेको अनुसन्धानमा युक्रेनको जापोरिजिया क्षेत्रमा मात्रै ५२१ होटल तथा रिसोर्टलाई रुसी अधिकारीहरूले ‘बेवास्ता गरिएका वा मालिकविहीन सम्पत्ति’ का रूपमा पहिचान गरेको पाइएको छ ।
तीमध्ये कम्तीमा ७७ होटल तथा रिसोर्ट रुसी व्यवसायको नियन्त्रणमा पुगेका छन् भने २० वटा रुसी सरकारी निकायको स्वामित्वमा रहेको अभिलेखले देखाएको छ ।
यसैबीच, रुसी कब्जामा आफ्नो होटल गुमाएका युक्रेनी व्यवसायी डेनिस कात्युखाले क्षतिपूर्तिका लागि रुसविरुद्ध कानुनी लडाइँ सुरु गरेका छन् । उनले युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने आजोभ सागर किनारको आफ्नो ‘द एडमिरल’ होटल र मेलिटोपोलस्थित अपार्टमेन्ट कब्जा गरिएको भन्दै मुद्दा दायर गरेका थिए ।
११ महिना लामो कानुनी प्रक्रियापछि गत अप्रिल ३० मा युक्रेनी अदालतले उनलाई ५१ लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ । रुसले भने उक्त अदालतको क्षेत्राधिकार स्वीकार गरेको छैन र सुनुवाइमा आफ्ना प्रतिनिधि पनि पठाएको थिएन ।
सन् २०१४ मा केही भवनबाट सुरु गरिएको उनको होटल पछि सय कोठा, तीन बार, रेस्टुरेन्ट, पसल, पौडी पोखरी र बालबालिकाका लागि खेल क्षेत्रसहितको रिसोर्ट बनेको थियो । सन् २०२१ मा उक्त रिसोर्टले ‘वर्षको उत्कृष्ट आतिथ्य सेवा’ पुरस्कारसमेत पाएको थियो । सन् २०२२ मा रुसी सेनाले क्षेत्र कब्जा गरेपछि होटलको व्यवस्थापन रुसी सरकारी निकायलाई सुम्पिएको थियो ।
रुसी सरकारले कब्जा गरिएका क्षेत्रमा सम्पत्ति पुनः दर्ता नगर्नेहरूको सम्पत्तिलाई मालिकविहीन घोषणा गर्ने नीति अपनाएको छ । युक्रेनको विदेश मन्त्रालयले यसलाई राज्यद्वारा संरक्षित सम्पत्ति चोरीको कानुनी आवरण भनेको छ । तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी कानुनअनुसार सम्पत्ति पुनः दर्ता गर्ने अवसर दिइएको दाबी गरेका छन् ।
कात्युखाले आफ्नो क्षतिको विवरण तयार पार्न तीन हजार पृष्ठका कागजात सङ्कलन गरेका थिए । उनले युरोपेली सङ्घको सहयोगमा स्थापना भएको युक्रेन क्षति अभिलेखमा पनि दाबी पेस गरेका छन् । उक्त अभिलेखमा रुसको युद्धबाट क्षति बेहोरेका एक लाख ९५ हजारभन्दा बढीले क्षतिपूर्तिका लागि निवेदन दिएका छन् । तर क्षतिपूर्ति वितरण गर्ने वित्तीय संयन्त्र भने अझै स्थापित भएको छैन । कात्युखालाई आफ्नो जीवनकालमा रुसबाट क्षतिपूर्ति प्राप्त हुने सम्भावना कम रहेको थाहा छ, तर भविष्यमा आफ्ना नातिनातिनाले न्याय पाउन सक्ने आशामा उनले कानुनी सङ्घर्ष जारी राखेका छन् ।
