काठमाडौँ । राजधानीमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आगामी मंसिर ४ देखि ६ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा तीन दिने मेला सञ्चालन हुनेछ ।
नेपाल सरकार र निजी क्षेत्रको संयुक्त पहलमा हुन लागेको प्रदर्शनीबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेलामा २० भन्दा बढी देशका कृषि प्रविधि प्रदर्शन गरिनेछन् । ७० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टल राखिनेछन् । ती स्टलबाट दुई हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण र मेसिनरी अवलोकन गर्न सकिनेछ ।
कृषक, विद्यार्थी र अनुसन्धानकर्ताको सहज पहुँचका लागि प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । एउटै स्थानमा आधुनिक कृषि, पशुपन्छी पालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, कोल्ड स्टोर तथा प्रशोधनसँग सम्बन्धित अत्याधुनिक यन्त्र हेर्न पाउनु कृषकका लागि ठूलो अवसर हुने आयोजकको दाबी छ । करिब ५० हजार किसानले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नेपालमै उत्पादित कृषि यन्त्र र प्रविधिका उत्पादक कम्पनी तथा संस्थालाई करिब ३० वटा स्टल निःशुल्क दिइएको छ । सरकारको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानका कम्पनीलाई स्टल बुकिङमा ६० प्रतिशत छुट दिइएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था छ ।
प्रदर्शनी कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहर भवन र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) को संयुक्त आयोजनामा हुन लागेको हो । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन सह–आयोजक छन् । मेलामा यन्त्र प्रदर्शनसँगै कृषि यान्त्रीकरणबारे संवाद, कार्यपत्र प्रस्तुति, प्यानल छलफल र नीतिगत संवाद पनि हुनेछन् । २०७० सालमा चितवनबाट सुरु भएको राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको यात्रा अहिले आठौँ संस्करणसम्म आइपुगेको छ ।
