रौतहटको मौलापुर बजार क्षेत्रमा बाँदरले आक्रमण गर्दा करिब १५ जना घाइते भएका छन्। मंगलबारदेखि बुधबार बिहानसम्म बाँदरले बजार क्षेत्रमा पटक–पटक मानिसमाथि आक्रमण गरेको स्थानीयले बताएका छन्।
मौलापुर बजारस्थित स्मार्ट चोक आसपास बाँदर घर, पसल तथा अस्पताल परिसरमा पसेर मानिसलाई आक्रमण गर्न थालेको बताइएको छ। बाँदरको आक्रमणबाट हालसम्म करिब १५ जना घाइते भइसकेका छन्।
बाँदरको आतङ्कका कारण मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीसमेत त्रसित बनेका छन्। अस्पताल परिसरमै बाँदर पसेर आक्रमण गर्न थालेपछि स्वास्थ्यकर्मीलाई नियमित काम गर्न असहज भएको स्थानीयको गुनासो छ।
स्थानीयले बाँदरलाई तत्काल नियन्त्रणमा लिएर थप मानवीय क्षति हुन नदिन मौलापुर नगरपालिका र सुरक्षा निकायसँग माग गरेका छन्। इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसीले बाँदरको आक्रमणबाट मानिसहरू घाइते भएको घटनाको पुष्टि गरेका छन्।
उनका अनुसार प्रहरीसँग जङ्गली बाँदर नियन्त्रणमा लिन आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध छैन। त्यसैले बाँदर नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन डिभिजन वन कार्यालय रौतहटलाई आग्रह गरिएको उनले बताए।
बजार क्षेत्रमै बाँदरले आतङ्क मच्चाउँदा सर्वसाधारण, व्यवसायी तथा स्वास्थ्यकर्मी जोखिममा परेका छन्। सम्बन्धित निकायले समयमै बाँदर नियन्त्रणमा लिएर थप दुर्घटना हुन नदिने स्थानीयको अपेक्षा छ।
