नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्। सुर्खेतमा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै उनले दुई देशबीचको सम्बन्ध, सहकार्य र आगामी सम्भावनाबारे आफ्ना धारणा राखे।
राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कूटनीतिक सम्बन्ध रहेको चर्चा गरे। उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारका क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी दिए। दुई देशबीचको सहकार्यले नेपाली नागरिकलाई प्रत्यक्ष लाभ पुगिरहेको उनको भनाइ थियो।
कर्णाली प्रदेशको विकासका विषयमा पनि उनले आफ्नो धारणा राखे। सिङ्गो कर्णाली प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै उनले कर्णालीको विकासका लागि इजरायल सरकार सकारात्मक रहेको बताए। प्रदेशको सम्भावना र विकासमा इजरायलको साथ रहने उनको भनाइ थियो।
दुई देशबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकबीच सहयोग र सद्भाव बढ्दै गएको उनले बताए। दुवै देशको समृद्धि र दिगो सम्बन्ध कायम राख्न पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा उनले व्यक्त गरे। पत्रकारिताले दुई देशबीचको बुझाइ र सद्भाव अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरे।
