बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न प्रदेश सरकारले सुरक्षित आवास र जीविकोपार्जनको उचित प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६, पोलाघारीस्थित विपन्न चेपाङ बस्तीको स्थलगत निरीक्षण गर्दै उनले सीमान्तकृत नागरिकको पक्षमा सरकार रहेको बताए।
नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको पहलमा निर्माण गरिएका तीन वटा घर आवासविहीन चेपाङ परिवारलाई हस्तान्तरण गरिएको छ। मानबहादुर प्रजा, रविलाल प्रजा र सूर्य प्रजाको परिवारलाई मुख्यमन्त्री थापाले घरको साँचो हस्तान्तरण गरे। प्रदेशमा रहेका अन्य विपन्न परिवारका लागि पनि सुरक्षित आवास निर्माण गर्न प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने उनले बताए।
बस्तीका सबै आवासविहीनको यकिन लगत तत्काल सङ्कलन गर्न उनले साथमा रहेका जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिए। बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरिने पनि उनले बताए। आफ्नो कार्यकालमा चिसोका कारण कोही पनि कठ्याङ्ग्रिन नपरोस्, कोही घरबारविहीन बन्नु नपरोस् र जीविकोपार्जनकै लागि कसैले बाध्य भएर बिदेसिनु नपरोस् भन्ने आफ्नो सङ्कल्प रहेको उनले बताए।
चेपाङ समुदायको दिगो आयआर्जनका लागि बाख्राका पाठापाठी तथा कुखुराका चल्ला वितरण गर्ने विशेष अभियान सञ्चालन गरिने उनले जानकारी दिए। अनुदानमा दिइने बाख्रालाई व्यावसायिक रूपमा पाल्न उनले आग्रह गरे। बाख्रालाई काटेर खान नहुने र राम्रोसँग हुर्काएर पाठापाठी बढाई आम्दानीको दिगो स्रोत बनाउनुपर्ने उनले बताए।
