नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले बिहीबार लुम्बिनी लायन्ससँग १६ रनको हार बेहोरेपछि टोलीका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले फिल्डिङ र ब्याटिङको कमजोरी नै हारको कारण बनेको बताएका छन्। खेलपछि पत्रकार सम्मेलनमा बोल्दै उनले टस जितेर पहिले बलिङ गर्ने निर्णय सही भए पनि खेलाडीले मैदानमा राम्रो प्रदर्शन गर्न नसकेको बताए।
खेलमा धेरै मिसफिल्ड भएको र क्याचसमेत छुटेको उनको भनाइ छ। विपक्षी टोलीलाई अनावश्यक चौका र छक्का दिनु हारको एउटा मुख्य कारण बनेको उनले बताए। ती अवसर सदुपयोग गर्न सकेको भए खेलको नतिजा फरक हुन सक्ने उनको भनाइ थियो।
प्रशिक्षक चन्द्रपालले अनुभवी खेलाडी मोइन अलीको अनुपस्थिति पनि टोलीलाई खड्किएको बताए। उनको अनुभव र मैदानभित्र खेलाडीलाई सम्हाल्ने क्षमताको कमी महसुस भएको उनले उल्लेख गरे। नेपाली तथा युवा खेलाडीको प्रदर्शनबारे बोल्दै उनले व्यक्तिगत रूपमा केही खेलाडीले राम्रो खेले पनि टोलीका रूपमा एकजुट भएर प्रदर्शन गर्न नसकेको बताए। खेलको कठिन अवस्थामा नेपाली र विदेशी दुवै खेलाडीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
अब प्रतियोगितामा टिकिरहन जनकपुरले बाँकी खेल जित्नैपर्ने दबाब रहेको पनि चन्द्रपालले बताए। विशेषगरी सुदूरपश्चिम रोयल्ससँगको आगामी खेल टोलीका लागि निकै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे। प्लेअफको सम्भावना कायम राख्न बाँकी खेल जित्नैपर्ने र नजिते प्रतियोगिताबाट बाहिरिने जोखिम रहेको उनले बताए। आगामी खेलमा राम्रो प्रदर्शन गर्दै पुनरागमन गर्ने प्रयास गर्ने उनको भनाइ थियो।
