चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्। बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार र पार्टीको कामबीच स्पष्ट विभाजन रहेको बताए।
सरकारको काम र पार्टीको काममा स्पष्टता र सुदृढता हुनुपर्नेमा उनले जोड दिए। सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीलाई अर्को व्यक्तिमार्फत कुर्सीमा राखिराख्ने किसिमको अभ्यासमा आफूहरू नरहेको उनको भनाइ थियो।
दुवै पक्षका कामकारबाहीमाथि कहिलेकाहीँ प्रश्न वा जिज्ञासा उठेमा बसेर छलफल हुने र समन्वयमा कुनै कमी नरहेको उनले बताए। सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उनको दाबी छ।
कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्था रहेको उल्लेख गर्दै उनले प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता संस्थालाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने बताए। परिपक्व ढंगले अघि बढ्नुपर्ने र त्यस किसिमका प्रश्न आउन नदिने गरी सरकारले विधिको शासनअनुसार चल्न ध्यान दिनुपर्ने उनको धारणा छ।
लामिछानेले सरकार र पार्टीबीच समन्वय बलियो रहेको र दुवै पक्षले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर अघि बढ्नुपर्ने बताए।
