काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक प्रदर्शन तथा भीड नियन्त्रणका क्रममा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयको आयोजनामा कात्तिक १७ देखि १९ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित तीनदिने परामर्श कार्यशालाको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री गुरुङले बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्त व्यवहारमा लागू गर्नुपर्ने बताए । शान्ति सुव्यवस्था कायम गर्ने क्रममा बल प्रयोगलाई प्राथमिकता दिनुभन्दा प्रभावकारी सञ्चार, समन्वय र संस्थागत सुधारमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सार्वजनिक प्रदर्शन व्यवस्थापनमा व्यावसायिक र संयमित भूमिका निर्वाह गर्न पनि निर्देशन दिए । शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनका क्रममा मानव अधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्दै प्रहरीको व्यावसायिक भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो ।
कार्यशालामा गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृतका साथै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालय जेनेभा तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका सहजकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यशालाले सहभागीहरूलाई आफ्ना अधिकार, जिम्मेवारी र कार्यविधि पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ । कार्यशालामा बल प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, संवाद, समन्वय, परिचालन योजना र नेतृत्वको जवाफदेहितालगायत विषयमा छलफल भएको थियो । यसबाट प्राप्त ज्ञान र सीपले नेपालमा व्यावसायिक, संयमित तथा जवाफदेही प्रहरी अभ्यासको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
