नेपाली कांग्रेसले पार्टीको सन्देश जनतासम्म पुर्याउन र संगठनलाई स्थानीय तहसम्म सक्रिय बनाउन युवा केन्द्रीय सदस्यलाई ठूलो जिम्मेवारी दिने तयारी गरेको छ। बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा ३५ वर्षमुनिका केन्द्रीय सदस्यहरूको बैठकमा डिजिटल अभियानदेखि पालिकास्तरसम्मको परिचालनबारे छलफल भएको हो।
बैठकमा सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेललगायत पदाधिकारी र सामाजिक सञ्जालमा प्रभाव बनाएका युवा केन्द्रीय सदस्य सहभागी थिए। छलफलको नेतृत्व महामन्त्री पौडेलले गरेका थिए। सहभागीहरूले पार्टीका सन्देशलाई नयाँ ढंगले जनतासम्म लैजाने र जनतासँगको सम्बन्ध बलियो बनाउने उपायबारे सुझाव दिए।
सभापति थापाले परम्परागत तरिकाले मात्रै पार्टीको कुरा जनतासम्म पुग्न नसक्ने बताउँदै नयाँ पुस्ताको सोच, प्रविधि र सिर्जनात्मक क्षमताको उपयोग गर्नुपर्ने धारणा राखे। युवालाई जिम्मेवारी तोकेर जनतामाझ पठाउने र स्थानीय तहसम्म संगठन सक्रिय बनाउने विषयमा उनले जोड दिए।
लुम्बिनी प्रदेशसभा सदस्य तथा युवा केन्द्रीय सदस्य अनुराग खड्काका अनुसार सभापतिले सामाजिक सञ्जाललाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने भन्ने विषयमा नयाँ पुस्तासँग सुझाव मागेका थिए। खड्काले पार्टीको आधिकारिक डिजिटल प्रणाली तयार नहुँदासम्म महाधिवेशन प्रतिनिधिलाई समेटेर ह्वाट्सएप समूह बनाई सूचना कार्यकर्तासम्म पुर्याउनुपर्ने प्रस्ताव राखे।
केन्द्रीय सदस्य इन्जिनियर अभिषेक आत्रेयले सामाजिक सञ्जालमा राखिने पार्टीका सामग्री प्रमाण र स्रोतमा आधारित हुनुपर्ने बताए। मधेश प्रदेशकी केन्द्रीय सदस्य ममता शर्माले युवालाई जिम्मेवारी दिएर जनताका वास्तविक समस्या पहिचान गर्न परिचालन गर्नुपर्ने धारणा राखिन्। कांग्रेसका कान्छा केन्द्रीय सदस्य गौरव पाण्डेले बैठक युवाको भूमिका र नयाँ पुस्ताका अपेक्षामा केन्द्रित भएको बताए।
बैठकमा युवालाई पालिका तहसम्म जिम्मेवारी दिने र तल्लो तहबाट आएका सुझाव केन्द्रसम्म पुर्याउने रणनीतिमा जोड दिइएको थियो। आत्रेयका अनुसार सभापति थापाले ‘बटम टु टप’ र ‘टप टु बटम’ दुवै अवधारणा समेटेर पार्टी परिचालन गर्नुपर्ने बताएका थिए।
सभापति थापाले आफूविरुद्ध फैलाइएको पक्राउसम्बन्धी हल्लाबारे पनि बैठकमा धारणा राखे। आफूले नैतिकता गुमाउने कुनै काम नगरेको स्पष्ट पार्दै उनले भ्रमबाट विचलित नहुन आग्रह गरे। केन्द्रीय सदस्य डीबी सुनारका अनुसार सभापतिले आफू कुनै पनि अनुसन्धानका लागि तयार रहेको र प्रमाण भेटिए कारबाहीमा कांग्रेसले अवरोध नगर्ने बताएका थिए।
