खोटाङ । जिल्ला अस्पताल खोटाङले नयाँ भवन पाएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले ५० शय्याको सुविधा सम्पन्न अस्पताल भवन अस्पताललाई हस्तान्तरण गरेको हो। नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार रुपैयाँ लगानीमा बनेको भवन बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुरज पौडेलले अस्पतालका निमित्त प्रमुख डा. पुस्कल राईलाई भवनको प्रमाणपत्र बुझाएका हुन्।
भवन निर्माणका लागि २०७८ साल असार २४ गते सम्झौता भएको थियो। ३० महिनामा काम सक्ने लक्ष्य राखिएको भए पनि निर्माण समयमा सम्पन्न भएन। निर्माणको जिम्मा लिएको कम्पनीले काम अलपत्र पारेपछि कारबाहीको प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि जिल्लाकै निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिएर बाँकी काम पूरा गरे।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले तिहारपछि सेवा शुभारम्भ गर्ने तयारी गरेको छ। आवश्यक सामग्री जडान गरेपछि ५० शय्याको सेवा सुरु हुने समितिका अध्यक्षले जानकारी दिए। उनले सेवापछि उपचारका लागि जिल्लावासी बाहिर जानु नपर्ने र विशेषज्ञ चिकित्सकसहित सबै सेवा अस्पतालमै उपलब्ध हुने बताए।
२०४९ साल वैशाख १ गते १५ शय्याबाट सुरु भएको अस्पताल २०८२ साल असार २२ गते ५० शय्यामा स्तरोन्नति भएको थियो। तर भवन तयार नहुँदै सेवा घोषणा गरिएपछि त्यसबेला सामाजिक सञ्जालमा असन्तुष्टि देखिएको थियो।
लिफ्टसहितको चारतले भवनको पहिलो तलामा ओपीडी, इमरजेन्सी, शल्यक्रिया कक्ष, एक्स–रे, फार्मेसी र सुरक्षा कक्ष छन्। दोस्रो तलामा प्रसूति सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू, आइसोलेसन र क्याबिन, चौथो तलामा प्रशासन, लेखा र सेमिनार हल रहेका छन्।
