ढाका — विश्व राजनीतिमा जस्तोसुकै उतारचढाव आए पनि चीन र बङ्गलादेश एकअर्काको साथमा उभिरहने प्रतिबद्धता चिनियाँ कम्युनिस्ट पार्टीका एक उच्च अधिकारीले व्यक्त गरेका छन्। बङ्गलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले दुई देशबिचको सम्बन्धलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिए।
उनले व्यापार, लगानी, विकास र राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनु आजको आवश्यकता भएको बताए। चिनियाँ दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बङ्गलादेश–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्रको औपचारिक उद्घाटनसमेत गरियो। ‘इतिहासले भविष्यलाई उज्यालो बनाउँछ’ भन्ने नारासहित आयोजित कार्यक्रममा दुवै देशका प्रमुख राजनीतिक दलका वरिष्ठ नेता, सरकारी प्रतिनिधि, कूटनीतिज्ञ, परराष्ट्र मामिला विज्ञ तथा व्यवसायीहरूको सहभागिता थियो।
कार्यक्रममा राजनीतिक दलबिचको संवाद, अनुभव आदानप्रदान र शासन सञ्चालनसम्बन्धी अध्ययन तथा सहकार्यलाई संस्थागत बनाउने विषयमा छलफल भएको थियो। नयाँ अध्ययन केन्द्रलाई चीन र बङ्गलादेशबिच राजनीतिक तथा संस्थागत सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ।
हाइछिङ पाकिस्तानको भ्रमण सकेर बङ्गलादेश पुगेका हुन्। पाकिस्तान र बङ्गलादेशले आपसी सम्बन्ध बलियो बनाउन विशेष अध्ययन संयन्त्र बनाउने सहमति समेत गरेका छन्।
