संखुवासभा, २० कात्तिक — कोशी प्रदेश सरकारले संखुवासभाको जिल्ला अस्पताललाई ५० बाट १०० शय्यामा विस्तार गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै उक्त घोषणा गरेका हुन्।
मुख्यमन्त्री कार्कीका अनुसार आगामी आर्थिक वर्षदेखि संखुवासभासहित प्रदेशका अन्य चार अस्पतालको क्षमता पनि ५० बाट बढाएर १०० शय्या पुर्याइनेछ।
भवन मात्र होइन, सेवाको गुणस्तर पनि सुधार्ने तयारी छ। अस्पतालमा आवश्यक जनशक्ति र कर्मचारी दरबन्दी थप गरिने उनले बताए। क्षमता विस्तारसँगै विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने र सामान्य उपचारका लागि जिल्लावासीले बाहिर जानुपर्ने बाध्यता हटाउने योजना प्रदेश सरकारको छ।
अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने मुख्यमन्त्री कार्कीले बताए। शुक्रबार उद्घाटन गरिएको नयाँ भवन सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामार्फत २७ करोड २७ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भएको हो। जिल्लामा स्वास्थ्य सेवा विस्तारसँगै स्थानीय बासिन्दाले उपचारका लागि टाढा जानुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ।
