दक्षिण अमेरिकी मुलुक पाराग्वेमा बैंकिङ संकटले राजनीतिक भुइँचालो ल्याएको छ। संसद्ले राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोग लगाएर पदबाट हटाएको छ।
शुक्रबार माथिल्लो सदनमा भएको मतदानमा उनकै दलका सदस्यहरूले पनि विपक्षमा मत दिएपछि पेना पदमुक्त भए। पदबाट हटेको केही मिनेटमै प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरमै नजरबन्दमा राख्यो, बीबीसीले जनाएको छ। पेनाको स्थानमा उपराष्ट्रपति पेद्रो आलियानाले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्।
बिहीबार पेनाले राजीनामा दिने घोषणा गरेका थिए। तर संसद्ले राजीनामा स्वीकार्नुको साटो महाअभियोगको बाटो रोज्यो। यस निर्णयसँगै उनले पूर्वराष्ट्रपतिका रूपमा पाउने आजीवन सिनेट सदस्यता र कानुनी उन्मुक्ति गुमाएका छन्।
उनमाथि स्वार्थको द्वन्द्व, नियामक निकायको काममा हस्तक्षेप, पेन्सन कोषको रकम दुरुपयोग र केन्द्रीय बैंकसँग जोडिएका अनियमितता लुकाएको आरोप छ। सरकारी वकिल सिल्भिया मार्गरिटा गोन्जालेज भेस्टरका अनुसार शनिबार उनीसँग विश्वासको दुरुपयोग, प्रभावको व्यापार र सार्वजनिक कोषको दुरुपयोगबारे सोधपुछ हुनेछ।
संकटको जड डिजिटल बैंक युएनो हो। केन्द्रीय बैंकले युएनोलाई नियन्त्रणमा लिएपछि बैंकको कारोबार ठप्प भयो र झन्डै ३० लाख ग्राहक आफ्नो बचत र बैंकिङ सेवाबाट वञ्चित भए— यो संख्या मुलुकको कुल जनसंख्याको करिब आधा हो। बैंकमा सर्वसाधारणको बचतसँगै पेन्सन र सरकारी निकायको ठूलो रकम जम्मा थियो। रकम फिर्ता नपाएपछि राजधानी असुन्सियनलगायत विभिन्न ठाउँमा व्यापक प्रदर्शन भइरहेको छ।
पेना गत वर्षसम्म बैंकको स्वामित्व रहेको कम्पनीमा सेयरधनी थिए। उनले आफू कुनै गलत कार्यमा संलग्न नभएको दाबी गर्दै आएका छन्।
