काठमाडौं — चाडपर्वको समयमा घर–घरमा बत्ती निभ्ने चिन्ता यस वर्ष नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले तिहार र छठका दिन विद्युत् आपूर्ति नियमित राख्ने प्रतिबद्धता जनाएको छ ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाको साँझ देशभर विद्युत्को उच्चतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान छ । सोही समयमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । उत्पादन मागभन्दा बढी हुने भएकाले आन्तरिक स्रोतबाटै पर्याप्त विद्युत् उपलब्ध हुने प्राधिकरणको दाबी छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाका दिन आवश्यक पर्ने सम्पूर्ण विद्युत् आन्तरिक उत्पादनबाटै धानिने बताएका छन् । पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय सेवा दिन प्राधिकरणले विशेष तयारी गरेको जनाएको छ ।
पर्व अवधिभर आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक सबै तयारी गर्न निर्देशन दिइएको छ । कतै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न भनिएको छ ।
प्रसारण लाइन र वितरण प्रणालीको निरीक्षण तथा बाँकी मर्मतसम्भारका काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न पनि निर्देशन दिइएको छ । विद्युत्सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित रूपमा उठाउन र गुनासो व्यवस्थापन प्रभावकारी बनाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ ।
