सुर्खेत — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थलगत निरीक्षण गरेकी छन्। कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र पूर्वाधारको अवस्था बुझ्न उनी रङ्गशाला परिसर पुगेकी हुन्।
निरीक्षणका क्रममा मन्त्री बादीले खेल मैदान, प्याराफिट र अन्य पूर्वाधारको निर्माण प्रगतिबारे सम्बन्धित पक्षसँग विस्तृत जानकारी लिइन्। खेलाडीका लागि आवास, खेलस्थलको व्यवस्थापन र अन्य सेवा-सुविधाका विषयमा उनले विशेष चासो देखाइन्।
राष्ट्रिय खेलकुदले नयाँ प्रतिभा पहिचान गर्नुका साथै खेल क्षेत्रको विकास र राष्ट्रिय एकता बलियो बनाउन सघाउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयभित्रै सबै तयारी सक्न निर्देशन दिइन्।
कर्णालीमा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिताले प्रदेशको खेल पर्यटन, पूर्वाधार र पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मन्त्री बादीले प्रतियोगिताको सफलताको शुभकामना दिँदै कर्णालीवासीले यसलाई गौरवको विषयका रूपमा लिनुपर्ने बताइन्।
