म्याग्दी — मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती डेढ महिनापछि सडक सञ्जालमा जोडिएका छन्। गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले गाउँपालिकाका आठवटै वडाका सडक अवरुद्ध भएका थिए। मर्मतपछि ती सबै सडक सञ्चालनमा आएका हुन्।
गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुनका अनुसार वडा नम्बर ५ स्थित पाउद्धार गाउँ जोड्ने सडकको मर्मत आइतबार सम्पन्न भएको हो। यससँगै भौगोलिक रूपमा विकट र बढी क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडकसमेत सञ्चालनमा आएका छन्। पहिरोका कारण पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत गर्न नसकिएपछि शिखदेखि स्वाँत, किन्दु र झारवाङ हुँदै पाउद्धार जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। पाउद्धारदेखि नेपाने जोड्ने सडकको मर्मत भने जारी रहेको उपाध्यक्ष पुनले जानकारी दिइन्।
सडक सञ्चालनमा आएसँगै विपद्बाट क्षतिग्रस्त खानेपानी, सिँचाइ, पदमार्ग, भवन तथा निजी आवास पुनर्निर्माणको काम अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ। बाढीपहिरोमा परी अन्नपूर्ण गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। विपद्का कारण ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। घर भत्किएर तथा जोखिममा परेर तीन सय परिवार प्रभावित भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले विपद्बाट क्षतिग्रस्त निजी आवास तथा सार्वजनिक भौतिक संरचनाको पुनर्निर्माणलाई तीव्रता दिने तयारी गरेको छ।
