कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो। लु.१ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगरका ७७ वर्षीय लखन अहिरको ज्यान गएको हो। गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति सु.प.प्र.०१–००८ प ५८७७ र भे.१० प ९९३६ नम्बरका मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा ठाकुरबाबा नगरपालिका–५ खुनपुरका ३० वर्षीय महेन्द्र रिजाल र ठाकुरबाबा नगरपालिका–४ बर्गदाका २० वर्षीय अभिषेक चौधरीको मृत्यु भएको हो। घाइते भएका चौधरीको बर्दिया र रिजालको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा बोलेरो चालक कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा र सोही गाउँपालिका–६ का ४१ वर्षीय रने शार्कीको मृत्यु भएको छ। बोलेरोमा सवार अन्य चार घाइतेको सुर्खेतमा उपचार भइरहेको छ।
नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बा.९९ प ८२०२ नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा चालक विदुर नगरपालिका–९ का ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार विदुर नगरपालिका–१३ का ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो। तीनै जनाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
