अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीलाई क्षमा दिन नसक्ने र त्यसको मूल्यमा स्वर्गको ढोका बन्द भए पनि स्वीकार्य हुने बताएका छन्।
सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’ मा आइतबार राति प्रसारित अन्तर्वार्ताका क्रममा पत्रकार रस डुथाटले ट्रम्पलाई मृत्युपछि स्वर्ग पुग्ने आशा छ कि छैन भनेर सोधेका थिए। ट्रम्पले आफू त्यस्तै आशा गर्ने र नरक जान नचाहने जवाफ दिए।
त्यसपछि डुथाटले स्वर्गीय दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको शोक सभाको प्रसंग उठाए। किर्ककी पत्नी एरिका किर्कले क्षमा र प्रेमको सन्देश दिइरहँदा ट्रम्पले ठट्टाको शैलीमा आफू विरोधीहरूलाई घृणा गर्ने र उनीहरूको राम्रो भएको हेर्न नचाहने बताएका थिए।
त्यही प्रसंगलाई जोड्दै डुथाटले ट्रम्पसमक्ष एउटा काल्पनिक सर्त राखे — स्वर्गमा प्रवेश गर्न पूर्व एफबिआई निर्देशक जेम्स कोमी, पूर्व सभामुख न्यान्सी पेलोसी वा वर्षौँदेखि घृणा गरेका विरोधीलाई माया र क्षमा दिनुपर्ने भए के गर्छन्?
ट्रम्पले ती विरोधीहरूलाई देशका लागि निकै खराब र अत्यन्तै बेइमान मानिस भएको टिप्पणी गर्दै आफ्नो जवाफ ‘सक्दिनँ’ नै हुने बताए। उनले भने, ‘ईश्वरको न्यायको अगाडि उभिनुपरे पनि म उनीहरूलाई माफ गर्न सक्दिनँ।’
ट्रम्पले आफ्ना केही शत्रुलाई साच्चै घृणा गर्ने र सधैँ गरिरहने बताउँदै सरकारी संयन्त्रको दुरुपयोग, आफूमाथि लगाइएका अभियोग र महाभियोगको प्रसंग पनि उठाए।
अन्तर्वार्ताकारले अमेरिकी इतिहासमै सबैभन्दा भाग्यशाली जीवन पाएको व्यक्ति भएर पनि क्षमा गर्न नसक्नुको कारण सोध्दा पनि ट्रम्प आफ्नो अडानमा कायम रहे। यो अभिव्यक्तिपछि अमेरिकी धार्मिक तथा राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। विश्लेषकहरूका अनुसार मध्यावधि निर्वाचनको धक्का र कंग्रेसमा डेमोक्रेट्सको सम्भावित कडा छानबिनका बीच ट्रम्पको यो आक्रामक रूपले वासिङ्टनमा आगामी दिनहरूमा राजनीतिक तिक्तता अझ बढाउने सङ्केत गरेको छ।
