वासिङ्टन डीसी — अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै स्वचालित हतियार र ठूलो मात्रामा गोलीगट्टासहित एक भेनेजुएली नागरिक पक्राउ परेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र सीक्रेट सर्भिसको टोलीले २६ वर्षीय रोनी योरड्रिक्स गुआनिपा क्रिनोसलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिहीबार राति ह्वाइट हाउस नजिकै पार्क गरिएको चोरीको नीलो फोर्ड एफ-१५० गाडीभित्र सुतिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। सोधपुछका क्रममा उनले गुगल ट्रान्सलेटको सहयोगमा आफूसँग हतियार रहेको जानकारी दिएका थिए।
गाडीको खानतलासी गर्दा प्रहरीले एआर-१५ शैलीको राइफल, म्याक-१० ह्यान्डगन र ग्लोक ४३एक्स पेस्तोलका साथै ठूलो मात्रामा गोलीगट्टा बरामद गरेको छ।
अनुसन्धानका क्रममा सन् २०२४ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका ती युवकले आफ्नो दिमागमा विभिन्न आवाज आउने र ती आवाजले राष्ट्रपति ट्रम्पको हत्या गर्न उकास्ने गरेको बयान दिएका छन्। उनले केही हतियार आफूले किनेको र केही अरूबाट खोसेको दाबी गर्दै सोही चोरीको गाडीमा बस्दै आएको बताएका छन्। यस घटनाबारे अमेरिकी सुरक्षा निकायहरूले थप अनुसन्धान अघि बढाएका छन्।
