कैलाली । आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर चर्किएको विवादका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले बैठकमा अवरोध गरेपछि सभा आजका लागि स्थगित भएको हो ।
प्रदेशसभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रदेशसभा सदस्यहरू उठेर विरोधमा उत्रिएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिएका थिए ।
बैठकमा कांग्रेस नेता विक्रम धामीले बजेटमा त्रुटि भएको कुरा अर्थमन्त्री आफैँले स्वीकार गरिसकेको बताए । उनले सत्तारुढ नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलले समेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएको अवस्थामा सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे । सभामुखले सात सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेको उल्लेख गर्दै उनले यस्तो सरकार सत्तामा रहिरहनु उपयुक्त नभएको बताए ।
कांग्रेसले नाराबाजीसहित अवरोध जारी राखेपछि सभामुख भण्डारीले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । प्रतिपक्षीसँग सहमति जुट्न नसकेपछि बैठक पुनः नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।
यसअघि आर्थिक वर्ष सुरु भएको करिब तीन महिनासम्म प्रदेशमा ‘बजेट होलीडे’ को अवस्था रहेको थियो । बजेटकै कारण तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार प्रदेशसभामा बजेट पेस गरिसकेपछि विघटन भएको थियो । त्यसपछि बनेको मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले गत असोज २६ गते प्रतिपक्षीको बहिष्कारका बीच बहुमतले बजेट पारित गरेको थियो । तर हालको बजेटमाथि पार्टीभित्र र बाहिर अझै विरोध भइरहेको छ ।
