झापा — कमल गाउँपालिका–५ मा बन्ने आदिवासी स्मृति रङ्गशालाको निर्माणले अन्ततः गति लिने भएको छ। सङ्घीय सरकारले रङ्गशालाका लागि ३० करोड रुपैयाँको बहुवर्षीय परियोजना स्वीकृत गरेपछि लामो समयदेखि अलपत्र परेको काम अघि बढ्ने बाटो खुलेको हो।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा रङ्गशाला निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भएको छ। यो रकमबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पूर्वाधारको काम सुरु गर्ने निर्णय भएको रङ्गशाला निर्माण समितिका महासचिव दिपेनवाला राईले जानकारी दिए। उनका अनुसार बाँकी रकम आगामी दुई वर्षको बजेटबाट विनियोजन गर्ने प्रतिबद्धता सङ्घीय सरकारले जनाएको छ।
यस विषयमा कमल गाउँपालिकाले आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानसहितका सरोकारवाला निकायसँग संयुक्त बैठक गरिसकेको छ। गाउँपालिका अध्यक्षसमेत रहेका निर्माण समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा बसेको बैठकमा सघन सहरी विकास कार्यालय भद्रपुर, पाथीभरा सशस्त्र तालिम केन्द्र, पूर्वाधार विकास कार्यालय भद्रपुर र प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए।
रङ्गशालाको शिलान्यास विसं २०६७ वैशाखमा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले गरेकी थिइन्। तर राजनीतिक खिचातानीका कारण निर्माण अघि बढ्न सकेको थिएन। निर्माणस्थलमा आदिवासी जनजातिका ९०० भन्दा बढी चिहान हटाएर रङ्गशाला बनाइने भएको हुँदा सुरुमा यसको नाम ‘आदिवासी स्मृति रङ्गशाला’ प्रस्ताव गरिएको थियो। पछि नाम फेरेर ‘मदन भण्डारी रङ्गशाला’ राख्ने प्रयास भएपछि विवाद चुलिएको थियो र निर्माण अलपत्र परेको थियो।
