भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा पर्ने पाँचधारेमा बौद्ध स्तुपा बनेपछि त्यहाँ पुग्ने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । धार्मिक पर्यटनलाई बलियो बनाउने र विभिन्न धर्मबीचको सद्भाव बढाउने लक्ष्यसहित स्तुपा निर्माण गरिएको हो ।
स्थानीय सरकारले पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा चिनाउने योजना बनाएको छ । त्यसैअन्तर्गत ‘पाँच धाम’ निर्माण गर्ने अवधारणा अघि सारिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए । उनका अनुसार प्राकृतिक सुन्दरताले भरिएको पाँचधारेलाई समग्र धार्मिक केन्द्रका रूपमा विकास गर्ने काम भइरहेको छ ।
स्तुपासम्म पुग्न सिँढीसहितको पदमार्ग पनि बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपलब्ध गराएको २७ लाख रुपैयाँको बजेटबाट स्तुपा निर्माण गरिएको हो । काठमाडौँको बौद्धनाथ स्तुपाको शैली र आकारलाई आधार मानेर बनाइएको यो स्तुपा २६ फिट लामो, २६ फिट चौडा र २१ फिट अग्लो छ ।
भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पाँचधारेमा स्तुपा बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ । स्थानीयवासी विनोदकुमार राईका अनुसार पर्यटक लक्षित पूर्वाधार विकासले गाउँलेमा उत्साह थपेको छ । धार्मिक तथा प्राकृतिक सम्भावना बोकेको पाँचधारेलाई प्रचारप्रसारसँगै अगाडि बढाउन सके यो क्षेत्र भोजपुरको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।
