भारतको उत्तर प्रदेशको चित्रकूट जिल्लामा गएराति भएको एउटा सडक दुर्घटनामा चार जना तीर्थयात्रीको ज्यान गएको छ। धार्मिक स्थलहरूको दर्शन सकेर घर फर्किँदै गरेका यात्रुहरू चढेको ट्रयाक्टर–ट्रली मऊ तहसिलको रामनगर नजिकै गएराति करिब साढे दुई बजे दुर्घटनामा परेको हो।
ट्रयाक्टर र ट्रलीलाई जोड्ने हुक अचानक छुट्टिएपछि ट्रली नियन्त्रणबाहिर गएर सडक छेउमा पल्टिएको जिल्ला प्रशासनले जनाएको छ। ट्रली पल्टिँदा त्यसमा सवार यात्रुहरू त्यसैमुनि च्यापिएका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै उद्धार टोली घटनास्थल पुगेको थियो। च्यापिएका यात्रुहरूलाई निकालिए पनि चार जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
जिल्लाधिकारी पुलकित गर्गले दुर्घटनाको पुष्टि गर्दै घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
तीर्थयात्रा सकेर घर फर्किने क्रममा भएको यो दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।
