जी–७ समूहका विदेशमन्त्रीहरू युक्रेन युद्धको अन्त्य र इरानसँगको तनाव समाधानका उपाय खोज्न फ्रान्सको राजधानी पेरिसमा सोमबारदेखि दुई दिने बैठकमा जुट्दैछन्।
बैठकमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाका विदेशमन्त्री सहभागी हुनेछन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो दुवै दिन बैठकमा उपस्थित रहनेछन्।
बैठकको मुख्य विषय मंगलबार र बुधबार अबुधाबीमा हुन लागेको अमेरिका, रुस र युक्रेनबीचको वार्तामा युरोपेली मुलुकहरूको भूमिका हुनेछ। फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटले अबुधाबी वार्तामा युरोपेली मुलुकहरूको प्रतिनिधित्व हुने र फ्रान्स पनि सहभागी हुने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युरोपलाई पनि समेटेर ठूलो सम्झौता हुन सक्ने संकेत गरेपछि युक्रेनमाथि आफूलाई प्रतिकूल हुने सर्त मान्न दबाब पर्न सक्ने चिन्ता युरोपमा बढेको छ।
इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सम्भावना र मध्यपूर्वमा बढ्दो तनावबारे पनि मन्त्रीहरूले छलफल गर्नेछन्। हर्मुज जलघाँटीबाट हुने ऊर्जा ढुवानीलाई सामान्य अवस्थामा फर्काउनु बैठकको प्राथमिकतामा छ। राष्ट्रपति ट्रम्पले शुक्रबार इरानसँग सम्झौता गर्न आफू निकै इच्छुक रहेको बताएका थिए।
बैठककै क्रममा फ्रान्सले चेर्नोबिल आणविक केन्द्रको क्षतिग्रस्त सुरक्षा संरचना मर्मतका लागि दाता सम्मेलन पनि आयोजना गर्नेछ। मर्मतका लागि करिब ५० करोड युरो चाहिनेमा हालसम्म आधाभन्दा केही बढी रकम मात्र जुटेको छ। सन् २०२७ को वसन्तसम्म आवश्यक रकम जुटाउने लक्ष्य राखिएको छ।
यसैबीच, फ्रान्सले मार्सेमा लागूऔषध तस्करी नियन्त्रण गर्न १४ अन्तर्राष्ट्रिय बन्दरगाहको सञ्जाल बनाउने कार्यक्रम पनि अघि सारेको छ। अमेरिकी विदेशमन्त्री रुबियोले भने मध्यावधि निर्वाचनमा ट्रम्प र रिपब्लिकन पार्टीले व्यहोरेको पराजयबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरेका छन्। अमेरिकामा शक्ति विभाजन हुनु असामान्य कुरा नभएको उनको भनाइ छ।
