कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार जारी खेलमा पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो शतक प्रहार गरेका छन्। कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेका सम्राले ४५ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै सय रन पूरा गरे।
क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन्। यस संस्करणमा शतक बनाउने उनी पहिलो खेलाडी बनेका छन्। समग्र एनपीएल इतिहासमा शतक बनाउने उनी चौथो खेलाडी हुन् भने पोखराका तर्फबाट शतक बनाउने तेस्रो खेलाडी बने।
यसअघि पोखराका आन्द्रे गौसले पहिलो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए। दोस्रो संस्करणमा एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै शतक प्रहार गरेका थिए।
सम्राको यो शतक यस संस्करणमा पोखराका कुनै पनि खेलाडीले बनाएको सबैभन्दा ठूलो स्कोर हो। यसअघि यस संस्करणमा पोखराका कुनै पनि ब्याटरले अर्धशतक समेत बनाउन सकेका थिएनन्।
ओपनिङमा आएका सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए। हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाए।
