सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका तीन फरक स्थानमा छापा मारेर जुवा खेलिरहेका २६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, बैंकको चेक, तास र मोबाइलसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ मा जुवा भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । त्यहाँ धनैस साह कलवारको कुखुरा फार्ममा १० जना र सन्तोष साहको घरमा सात जना जुवा खेलिरहेको अवस्थामा भेटिए ।
त्यसैगरी मलंगवा नगरपालिका–८ मा कोल्ड स्टोरनजिक रहेको भागनारायण चौधरीको घरमा छापा मार्दा थप नौ जना पक्राउ परे ।
तीनवटै स्थानबाट प्रहरीले कुल नौ लाख ४९ हजार एक सय ४५ रुपैयाँ नेपाली र ३२ हजार आठ सय ५० रुपैयाँ भारतीय मुद्रा बरामद गरेको छ । माछापुच्छ्रे बैंकको एक लाख ३० हजार रुपैयाँको एउटा चेक, तासका बुक र जुवा खेल्न प्रयोग हुने सामग्री पनि फेला परेका छन् । चौधरीको घरबाट मात्रै छ लाख ३० हजार एक सय ६० रुपैयाँ नेपाली, ३० हजार दुई सय ५० रुपैयाँ भारतीय मुद्रा र २५ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै २६ जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
