तिहारमा पटका पड्काउने रमाइलो पछाडि गर्भवती महिला र गर्भमा हुर्किरहेको शिशुका लागि गम्भीर स्वास्थ्य जोखिम लुकेको हुन सक्छ । विभिन्न वैज्ञानिक अध्ययनले पटकाको चर्को आवाज र धुवाँले आमा र शिशु दुवैको स्वास्थ्यमा असर पार्न सक्ने देखाएका छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) अन्तर्गतको राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य संस्थानका अनुसार गर्भावस्थामा अत्यधिक चर्को आवाजको सम्पर्कले जन्मिने शिशुको श्रवण क्षमतामा समस्या आउन सक्छ । गर्भस्थ शिशुको कान करिब २०औँ हप्तासम्ममा विकसित हुन्छ भने २४औँ हप्तादेखि उसले आवाजप्रति प्रतिक्रिया जनाउन थाल्छ । आमाको शरीरबाहिरबाट आएको आवाज गर्भभित्र पुग्दा केही कमजोर भए पनि पूर्ण रूपमा रोकिँदैन । सीडीसीले ११५ डेसिबलभन्दा चर्को आवाज हुने ठाउँबाट गर्भवती महिला टाढै रहन सुझाव दिएको छ ।
सन् २०१४ मा प्रकाशित एक मेटा–विश्लेषणमा २९ वटा अध्ययन समेटिएका थिए । त्यसअनुसार गर्भावस्थामा ८० डेसिबल वा सोभन्दा बढी आवाजको सम्पर्कमा रहेका महिलामा गर्भावस्थासँग सम्बन्धित उच्च रक्तचापको जोखिम २७ प्रतिशत र अपेक्षितभन्दा सानो आकारका शिशु जन्मिने जोखिम १९ प्रतिशत बढी देखिएको थियो । अचानक ठूलो आवाज आउँदा गर्भवती महिला झस्किने, तनाव बढ्ने र मुटुको धड्कन बढ्ने अवस्था पनि आउन सक्छ ।
पटकाको धुवाँले वायु प्रदूषण पनि बढाउँछ । सन् २०२४ मा प्रकाशित एक अध्ययनले भारतको भुवनेश्वरमा दीपावलीका बेला वायु प्रदूषण उल्लेख्य रूपमा बढेको देखाएको थियो । सन् २०२१ को दीपावलीका दिन पीएम २.५ को मात्रा ११३.८३ र पीएम १० को मात्रा २०४.३२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । धुवाँका सूक्ष्म कण श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गरी दम, खोकी र सास फेर्न गाह्रो हुने समस्या बढाउन सक्छन् । गर्भावस्थामा वायु प्रदूषणको सम्पर्क कम तौलका शिशु जन्मिने र समय नपुगी प्रसूति हुने जोखिमसँग जोडिएको विभिन्न अनुसन्धानले देखाएका छन् ।
त्यसैले गर्भवती महिलालाई पटका पड्काइने स्थानबाट टाढा राख्नु, धुवाँबाट जोगाउनु र सकेसम्म स्वच्छ हावा भएको ठाउँमा बस्ने वातावरण मिलाउनु आवश्यक छ । पटका नपड्काएर पनि तिहार मनाउन सकिन्छ, र अरूको स्वास्थ्य र सुरक्षाको ख्याल गर्नु पनि पर्व मनाउने संस्कार हो ।
