नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा भक्तपुरमा आइतबार सांस्कृतिक भिन्तुना र्याली निकालिएको छ। नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा भएको र्यालीमा सहभागीहरूले मौलिक पहिचान झल्किने वेशभूषा लगाएका थिए भने बाजागाजासहित नगरपरिक्रमा गरेका थिए।
र्याली स्थानीय सूर्यमढी र टौमढीबाट सुरु भएर विभिन्न टोल तथा बजार हुँदै दरबार स्क्वायर पुगेको थियो। त्यहाँ पुगेर र्याली सभामा परिणत भयो। कार्यक्रमको उद्देश्य नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजकले बताएका छन्। र्यालीले भक्तपुरको सांस्कृतिक वैभव प्रदर्शन गरेको थियो।
र्यालीपछि खौमास्थित जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरिएको थियो। सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले संस्कृतिको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए। नेपाल संवतको नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो।
